आफू केही गर्न नसकेर अरुलाई दोष्याउने एसकेएम सरकारको पूरानो प्रवृति हो : एसडीएफ

आफू केही गर्न नसकेर अरुलाई दोष्याउने एसकेएम सरकारको पूरानो प्रवृति हो : एसडीएफ

प्रेस विज्ञप्ति 

२५ वर्षको कार्यकालमा एसडीएफ सरकारले सिक्किममा कति उन्नति गर्‍यो भन्ने विषयको सत्यतथ्य छुट्टाउन नसक्ने मानसिकता बोकेका मन्त्री एम. एन. शेर्पालाई यथार्थको बोध हुन अलिक समय लाग्छ। आफू केही गर्न नसकेर अरूलाई दोष्याउने एसकेएम सरकारको पुरानो प्रवृत्ति हो। देखेर पनि नदेखे जस्तो गर्ने, निदाएको नक्कल गर्ने एम.एन. शेर्पाले पुर्व सरकारको विरोधमा नानाथरी कुरा गर्नुभन्दा बरू आँखा खोलेर चारैतिर हेरेको उचित हुनेछ। एसकेएम सरकारले यसो गर्‍यो र उसो गर्‍यो भन्दै नाक घोक्र्याउनुअघि ती योजना र कार्यक्रम कसले राज्यमा लागु गरेको हो भन्ने विषयलाई मनन चिन्तन गर्न अति जरूरी देखिन्छ।  एसकेएम सरकार राज्यको विकासका लागि नयाँ कार्यक्रम योजना लागू गर्न असमर्थ भएको कुरालाई स्वीकारेर पूर्व सरकारबाट शिक्षा लिएर काम गरे राज्य र  राज्यवासीहरुको हित हुने थियो। एसके एम सरकारका नेताहरूले एसडीएफ सरकारलाई दोष्याएर आफ्नो शक्ति खेर फाल्नुभन्दा जनताको हितमा नयाँ कार्यक्रम  योजना लागू गरेर राज्यको विकासमा ध्यान दिएमा सिक्किमेको उन्नति हुनेथियो। 

पूर्व सरकारमा के कस्ता विकासका काम भएका थिए , जनताको जीवन स्तर कति बढ़ेको थियो र सिक्किमको इमेज संसारमा कस्तो थियो भन्ने विषयलाई निन्द्रामा भएका मन्त्री एम.एन. शेर्पालाई थाहा हुँदैन। एसडीएफ सरकारले के गर्‍यो  अनि कति विकास गर्‍यो भन्नेबारे एसडीएफको काम आफै बोल्छ।   सत्यता त यो हो कि जुन दिनदेखि सिक्किमको बागडोर एसकेएमको हातमा पर्‍यो, त्यो दिनदेखि सिक्किममा अन्धकार छाएको छ, राज्य अनिकालले ग्रसित भएको छ, प्रजातन्त्रको हत्या भएको छ, राज्यको अस्तित्व र अस्मिता खतरामा परेको छ आदि इत्यादि कुराहरु जान्दाजान्दै पनि सत्ताको रापमा मातिएका मन्त्री एम एन शेर्पाले पूर्व सरकारलाई दोष्याउनु भनेको चै सत्ताको नशाले चुर भएर बेहोस भएको साबित हुन्छ। किनभने इतिहास साक्षी छ सिक्किमेली जनता साक्षी छन कि एसडीएफले सिक्किमको बागडोर सम्हालेपछि नै सिक्किमे जनताले अनिकालबाट मुक्ति पाए। जनताले बुनियादी सुविधा पाए। गाउँ गाउँमा सड़क, स्कूल, बिजुली, पानी आदि जस्ता विकासका कामहरु भए। गाउँ घरबाट धिप्री टुटीजस्ता बत्तीहरु मेटिएर चारैतिर झिलिमिली छायो। 

एसडीएफ सरकारले उर्जा विभागमा धेरै कामहरु गर्दै जनतालाई १०० युनिटीले बिजुली नि:शुल्क गराएको थियो। सिक्किमलाई आत्मनिर्भर बनाउन पावर प्रोजेक्ट राज्यमा भित्र्याएको थियो। जुन पावर प्रोजेक्टहरु आज एसकेएम सरकारले प्राइभेट कम्पनीहरुलाई बेच्दैछ। चुनाउको बेलामा मात्र पूर्व सरकारले शिलान्यास गर्‍यो भन्ने मन्त्री शेर्पाले प्रति महिना शिलान्यास गरेर देखाऊन न, गाउँ बजारमा विकासका काम गरेर देखाऊन न अनि जनताले पत्याउँछन्।आफ्नो सरकारले राज्यको उन्नतिका लागि कुनै पनि विकासका कामकुरा गर्न असमर्थ भएपछि सभाहरुमा सम्बोधन गर्दै पूर्व सरकारलाई दोषारोपण गरेर भड़ास निकाल्ने एसकेएम पार्टीका नेतादेखि लिएर मन्त्री, विधायक, कार्यकर्ताहरुसम्मको निकम्मा चरित्र हो। यस्तो नीच चरित्र भएका मान्छेहरुलाई सिक्किमे जनताले पत्याउने छैनन्।     

विष्णु दुलाल   सचिव ,

प्रचार-प्रसार मामिला  

एसडीएफ